पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन संयुक्त विद्यार्थी सङ्गठनको माग
२४ असार २०७८, बिहीबार १४:२२
४ असार २०७८, काठमाण्डौं
संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गर्दै नेपाल आयल निगमसमक्ष ज्ञापन पत्र बुझाएका छन् ।
निषेधाज्ञाले आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको अवस्थामा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्र्दै निगम समक्ष ७ बुँदे ज्ञापन पत्र बुझाएका हुन् । फिर्ता नलिइए कडा आन्दोलनमा उत्रने उनीहरुले चेतावनी दिएका छन् । उनीहरुले ठूलो नाफा आर्जन गरेको निगमले अन्तराष्ट्रिय बजारमा थोरै मुल्य बढ्ने बितिकै त्यसैको बहानामा मुल्यबृद्धि गर्नु पूर्णत गलत भएको पनि बताएका छन् । निगमद्वारा हाल लगाइएको भन्सार शुल्क, सडक मर्मत सम्भार कर, पूर्वाधार विकास कर, प्रदुषण शुल्क, मुल्य स्थिरीकरण कोष, मुल्य अभिवृद्धि कर, संस्थागत आयकर लगायत बिभिन्न शिर्षकमा उठाइएको रकमको औचित्यता, पारदर्शिता पुष्टि गर्न पनि बिद्यार्थी संगठनले माग गरेका छन् । उनीहरुले निगममा व्यवस्थापकीय सुधार, कालोबजारी नियन्त्रण गर्दै अनावश्यक खर्च कटौती गरियोस् र मुल्यवृद्धि नियन्त्रण गर्न पनि निगमको ध्यानाकर्षण गराएका छन् । ज्ञापन पत्र बुझाउदै अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले आफुहरुको माग सुन्न निगम तयार नभएको आरोप लगाउनुभयो । उहाले पटक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि अप्राकृतिक भएको बताउनुभयो ।
त्यस्तै अनेरास्ववीयु माधव पक्षका अध्यक्ष सुदेश पराजुलीले जनतालाई राहत र सहुलियतको जरुरत रहेको अवस्थामा थप पिडा र आहत दिने मुल्यवृद्धि घोर जनविरोधी र घातक रहेको बताउनुभयो ।
पछिल्लो पटक नेपाल आयल निगमले गत मंगलबार मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । प्रतिलिटर २ रुपैयाँले बढेको पेट्रोलको मूल्य १२९ रुपैयाँ पुगेको छ । डिजेल÷मटितेलको मूल्य ११२ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ ।


