पूर्वमाओवादी नेताहरुद्धारा आफूहरूको माग छिटो सम्बोधन गर्न आग्रह
२५ असार २०७८, शुक्रबार १९:१६
असार २५, २०७८ काठमाण्डौं
नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजी माग गरेका एमालेका पूर्वमाओवादी नेताहरुले आफूहरूको माग छिटो सम्बोधन गर्न आग्रह गरेका छन् ।
शुक्रबार पूर्व माओवादी नेता टोप बहादुर रायमाझी लगाएतका नेताहरु निर्वाचन आयोग पुगेर खारेजीको निवेदनमा छिटो निर्णय गर्न माग गरेका हुन् ।
माओवादी पार्टी मनपरी ढंगले चलिरहेको हुनाले छिटोभन्दा छिटो निर्वाचन आयोगले खारेज गर्नुपर्ने उहाले बताउनुभयो । उहाले तोकिएको समयमा महाधिवशेन नगरेर माओवादी पार्टी अवैधानिक भएको भन्दै अवैधानिक पार्टीले बैधानिक जनप्रतिनिलाई कारवाही गर्नु असंवैधानिक रहेको जिकिर गर्नुभयो ।
पार्टी विधानविपरीत अनुशासनहीन र मनपरी ढंगले चलिरहेको हुनाले नियमानुसार अवैध पार्टी खारेज हुनुपर्ने उहाको भनाई छ ।
माओवादीले लामो समयदेखि महाधिवेशन नगरेको भन्दै दल दर्ता खारेजीको लागि पूर्वमाओवादी नेताहरुले बुधवार आयोगमा निवेदन दिएका थिए । निवेदनमा २०७१ देखि माओवादी केन्द्रको महाधिवेशन नभएको दावी गरिएको छ । दल दर्ता खारेजीको माग गर्दै परेको निवेदन उपर आयोगले थालेको प्रक्रियाका बारेमाा जानकारी लिन रायमाझी, मणि थापा, प्रभु साह लगायतका नेताहरु आयोग पुगेका हुन् ।

