पूर्वप्रधानमन्त्री झलनाथ खनालको हस्ताक्षर दुरुपयोग भयो: जगन्नाथ खतिवडा
३ असार २०७८, बिहीबार १२:१४
३ असार २०७८ बिहिबार
ऋषि खनाल
नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता जगन्नाथ खतिवडाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको हस्ताक्षर दुरुपयोग भएको दाबी गर्नुभएको छ ।
नेता खतिवडाले हिजो फेसबुकमा स्टाटस लेख्दै पूर्वप्रधानमन्त्री खनालको हस्ताक्षर दुरुपयोग भएको दाबी गर्नुभएको हो । हिजो दिउँसो उपचारका लागि भारतको नयाँदिल्ली जानुअघि खनालको हस्ताक्षर भएको विज्ञप्ति सार्वजनिक भएको थियो । विज्ञप्तिमा पार्टी एकता जोगाउन एकजुट हुनुपर्छ भन्ने उल्लेख थियो । यसै विज्ञप्तिमा गरिएको हस्ताक्षर दुरुपयोग भएको नेता खतिवडाको दबी छ । ’स्वदेशमा उपचार नहुने परिस्थितिमा विदेशमा उपचार गर्न जानुभएका क. झलनाथ खनालको नाममा उहाँको हस्ताक्षर दुरुपयोग गरी वक्तव्य जारी गर्नु निकै नै दुखद छ,’ नेता खतिवडाले स्टाटसमा लेख्नुभएको छ, ’श्वास प्रश्वासमा समेत गार्हो भइरहेको अवस्थामा झलनाथ खनालले यस्तो वक्तव्य लेख्ने कल्पना गर्न सकिँदैन। वक्तव्यमा उल्लेखित विचार क. झलनाथ खनालको विचारसंग मेल खाँदैन ।’ नेता खतिवडाले झलनाथ खनाल दिल्ली जानका लागि जहाज चढिसकेपछि वक्तव्य आउनु रहस्यमय भएको समेत बताउनुभएको छ । ’खनालको वक्तव्यको चालबाजी रची कार्यकर्तालाई दिग्भ्रमित पार्नु नै पर्दैन । सर्वोच्चको फैसला, आदेश र विधानको व्यवस्था बमोजिम खुला संवाद गर्दा हुन्छ । बिग्रेको सच्याउछु भनी सच्याउदा हुन्छ । एजेण्डाहरु सम्बोधन गर्दा हुन्छ । यस्तो नाटक गरिरहनु पर्दैन,’ ओली पक्षलाई संकेत गर्दै उहाँले लेख्नुभएको छ । उहाँले ओली पक्षकै कोही नेताले खनालका नाममा कीर्ते विज्ञप्ति जारी गरेको हुन सक्ने आशंकाको भाव व्यक्त गर्नुभएको छ ।

