नेपाली काँग्रेसमा सभापतिको उम्मेदवार दावी गर्ने नेताहरुको संख्या दैनिक बढ्दै
१२ असार २०७८, शनिबार ०८:२२
१२ असार काठमाण्डौं
महाधिवेशन मिति नजिकिएसँगै नेपाली काँग्रेसमा सभापतिको उम्मेदवार दावी गर्ने नेताहरुको संख्या दैनिक बढ्न थालेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधिले यसअघि नै आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारका रुपमा आफूलाई अघि सार्ने घोषणा गरिसक्नु भएको छ भने, रामचन्द्र पौडेल पक्षका आधा दर्जन नेताहरुले समेत हिजो सभापतिमा दावी गर्ने घोषणा गरिसक्नुभएको छ । हिजोको पौडेल पक्षीय भेलामा पौडेलसहित महामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, नेताहरु सुजाता कोइराला, शेखर कोइराला, कल्याण गुरुङ, अर्जुननरसिंह केसी र डा.रामशरण महतले सभापतिको दाबेदारका रुपमा प्रस्तुत गर्नुभएको हो । डा.महतले हिजोको छलफल अघि नै काँग्रेसका केन्द्रीय सदस्यहरुलाई फोन गरे म सभापतिको दावेदार भएको भन्दै सहयोग गर्न आग्रह गर्नुभएको थियो । उहाँले हिजोको छलफलमा पनि सोही कुरा दोहोर्याउँदै दावेदारी रहने घोषणा गर्नुभएको हो । अर्का नेता अर्जुन नरसिंह केसीले भने विकल्पसहितको दावेदारी रहने बताउनुभएको छ । उहाँले सहमतिका आधारमा उम्मेदवार तय भए आफुहरु मान्ने र सहयोग समेत गर्न तयार रहेको बताउनुभयो । त्यस्तै केसीले सहमतिमा ६० वर्षभन्दा कम उमेरका नेताहरूबाट सभापति खोज्न सकिने विकल्प समेत अघि सार्नुभएको छ । नेता पौडेलले पनि आफु सभापतिको स्वभाविक उम्मेदवार रहेको भन्दै सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । पौडेलले एक पटकलाई सबैको साथ र सहयोगका लागि अनुरोध गर्नुभएको थियो ।

