नेपाल र भारतबीचको खेलमा सिमित दर्शकलाई मात्रै रंगशाला प्रवेश गर्न दिने एन्फाको तयारी
३ भाद्र २०७८, बिहीबार २०:३८
३ भाद्र,काठमाण्डौं
भारतसँगको मैत्रीपूर्ण खेलका लागि सीमित दर्शकलाई मैदान प्रवेश गर्न दिने तयारी भएको छ ।
कोरोनाविरुद्धको पूर्ण खोप लगाएका दर्शकलाई मैदान प्रवेशको अनुमति दिनका लागि राखेप र अन्य सरोकारवाला निकायसँग प्रस्ताव गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । पाँच हजार जनाको हाराहारीमा मात्रै भए पनि पूर्ण खोप लगाएका दर्शकलाई मैदान प्रवेशको अनुमति दिने विषयमा एन्फाले प्रस्ताव राखेको जनाएको छ । एन्फाका अनुसार तर, कोरोना महामारीको अवस्था अहिले भन्दा बढ्दै गएमा प्रस्तावमा पुनर्विचार हुनेछ । माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भदौ १७ र २० गते भारतसँग दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल खेल्दैछ । भारतसँगको खेल र साफ च्याम्पियनसिपको तयारीको लागि नेपाली टोलीको अहिले पोखरामा अभ्यास भइरहेको छ ।

