नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्दै
१९ श्रावण २०७८, मंगलवार १२:५६
१९ साउन २०७८, काठमाण्डौं
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्दैछ ।
बैठक आज दिउँसो २ बजे पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास ठमेलस्थित चाक्सीबारीमा बस्न लागेको हो । क्रियाशील सदस्यतामा देखिएका विवाद शीर्ष नेतृत्वबाट हल गर्ने भने पनि अहिलेसम्म समाधान नभएकाले आजको बैठक यसै विषयमा केन्द्रित रहने पूर्वमहामन्त्री सिंहका स्वकिय सचिव यूपी लामिछानेले जानकारी दिनुभयो । बाराका कांग्रेस कार्यकर्ता पार्टी कार्यालयमा धर्ना बसेको २५ दिन भइसकेको छ । बारा, सप्तरीलगायत जिल्लाका क्रियाशील सदस्यता टुंगिएको छैन । यसले गर्दा १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित छ । नेताहरूले अब भदौमा महाधिवेशन सम्भव नभएको बताउन थालिसकेका छन् । महाधिवेशन केन्द्रित बैठक आज पौडेल पक्षले गरेको हो । जसमा सभापति शेरबहादुर देउवानिकटबाहेक सबै केन्द्रीय सदस्यलाई बोलाइएको छ । सोमबार पनि महामन्त्री शशांक कोइराला निवासमा युवा नेताहरूबीच छलफल भएको थियो । उक्त भेलामा समयमै महाधिवेशन गर्न नेतृत्वको खबरदारी गर्नुपर्ने आवाज उठेको थियो ।

