एमाले अध्यक्ष ओलीकै कारण आजको परिस्थिति आएको नेता नेपालको आरोप
३ भाद्र २०७८, बिहीबार १२:३१
३ भाद्र २०७८, काठमाण्डौं
नेकपा एमालेबाट औपचारिक रुपमा अलग्गिएर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपालले आफूहरुले एमालेबाट वैधानिक विद्रोह गरेको र अब एमाले पुनर्गठनका लागि भूमिका खेल्ने बताएका छन् ।
आफ्नो नेतृत्वमा नयाँ पार्टी, नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेपालले हिजो साँझ सार्वजनिक अपिल जारी गर्दै यस्तो बताएका हुन् । अपिलमा उनले नेकपा (एमाले) गम्भीर संकटबाट गुज्रिरहेको र पार्टी एकताबद्ध भएर अगाडि बढ्न नसक्ने अत्यन्त पीडादायी अवस्था सिर्जना भएको बताएका छन् । उनले यस्तो स्थिति सिर्जना हुनुको मुख्य कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीले अंगीकार गरेको गलत विचार र उहाँले गरिरहेको गलत व्यवहार भएको बताउनुभएको छ । उहाँले पार्टीका सिद्धान्त, नीति, विचार र पार्टीको नवौँ महाधिवेशनबाट पारित गरिएका निर्णयअनुसार ओली चल्न सकेका कारण आजको परिस्थिति आएको समेत बताउनुभयो ।

