कांग्रेसको १४ औँ महाधिवेशनको सम्बन्धमा बोलाइएको केन्द्रीय समिति बैठक जारी
३० श्रावण २०७८, शनिबार १३:०२
३० साउन २०७८, काठमाण्डौं
नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सम्बन्धमा बोलाइएको केन्द्रीय समिति बैठक आज पनि जारी छ ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहीबारदेखि जारी बैठकमा शुक्रबार सम्म धारणा राखेका सबै केन्द्रीय सदस्यहरुले क्रियाशील सदसयता विवादलाई नै केन्द्रमा राखेका थिए । बैठकमा सदस्यहरुले आफ्नो जिल्ला, क्षेत्र र वडाका क्रियाशील सदस्यतामा देखिएका विवाद तथा समस्या बारेमा अवगत गराएका थिए । योसँगै बैठकमा आगामी भदौमा १४औँ महाधिवेशन हुनुपर्ने, महाधिवेशन मङ्सिरमा गर्नुपर्ने, कोभिड–१९ का कारण महाधिवेशन गर्न नसकिने, महाधिवेशन गर्ने अन्य बैकल्पिक उपाय खोजिनु पर्ने लगायतका र जनजीविका लगायतका विविध विषयमा मिश्रीत धारणा राखेका थिए । कांग्रेसले केन्द्रीय सदस्यको धारणा आईसकेपछि महाधिवेशनको नयाँ मितिका सम्बन्धमा निर्णय लिने भएको छ । कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । यद्यपि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशनअन्तर्गत स्थानीय तह र जिल्ला अधिवेशन भने प्रभावित भइसकेका छन् । केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा पुनः बस्दै छ ।

