२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

एमालेलाई विसर्जनको बाटोमा लगेकाले आफूहरु बाध्य भएर नयाँ दल दर्ता गरेकोे चौधरीको भनाई

५ भाद्र २०७८, शनिबार १९:२०


काठमाडौँ, ५ भदौ


माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य मेटमणि चौधरीले केपी ओलीले एमालेलाई विसर्जनको बाटोमा लगेको कारण आफूहरु बाध्य भएर नयाँ दल दर्ता गर्न पुगेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन ध्वस्त पार्ने काम गरेका यो अवस्था आएको आरोप पनि लगाउनुभयो । ओलीको कारण एमाले विसर्जनको बाटोमा गएकोले आफूहरुले बाध्य भएर पूनर्गठन गरेको उहाको भनाई छ । चौधरीले आफुहरुले एमालेको एकता र सग्लो एमालेको लागि हदैसम्मको प्रयास गरेको तर ओलीले एकता नचाहेको कारण आजको परिस्थिति उत्पन्न भएको बताउनुभयो । उहाले आफूहरुको पार्टी देशको सबैभन्दा ठूलो पार्टी बन्ने पनि दाबी गर्नुभयो । उहाले माधव नेपाललगायत आफूहरु १४ जना सांसदलाई पदमुक्त गर्ने भनेर एमालेले गरेको कारबाहीको कुनै औचित्य नभएको र कारबाही हुनै नसक्ने ठोकुवा गर्नुभयो ।
साक्षात्कारमा प्रदेश नम्बर १ का आन्तरिक मामिलामन्त्री तथा नेकपा (एमाले) का प्रभावशाली युवा नेता हिक्मत कार्कीले पार्टी एकताको लागि आफूहरु दश बुँदे सहमतिलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने पक्षमा रहेको बताउनुभयो । अहिले सवै दोष अध्यक्ष ओलीलाई दिएर कोहि पनि उम्कन नपाउने उहाको भनाई छ ।
त्यस्तै एमालेएकता पक्षधर नेता ठाकुर गैरेले आफूहरु एकताको लागि अझैपनि प्रयासरत रहेको बताउनुभयो । एकताका लागि ओली र माधव नेपालले आफ्नो अडान छोड्नुपर्ने उहाको भनाई छ ।
उहाले राष्ट्रिय एकता, अखण्डता, सावैभौमिकताको रक्षा, संविधानको कार्यान्वयन लगायतको लागि पनि एमालेको एकता अनिवार्य भएको जिकिर गर्नुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV