एमालेमा एकता जोगाउने प्रयास अझै जारी
३१ जेष्ठ २०७८, सोमबार ०८:३४
जेठ ३१ २०७८, सोमबार
नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालसहितको एमाले स्थायी कमिटी बैठक बोलाउने तयारी गर्नुभएको छ ।
ओलीले वरिष्ठ नेता नेपाल पक्षसहितको स्थायी कमिटी बैठक बोलाउने तयारी गरेको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । सकेसम्म असार २ गते नै बैठक बोलाउने तयारी रहेको उहाँले बताउनुभयो । बैठक कस्तो हुने र त्यसमा को कसरी सहभागी हुने भन्नेबारे मोडालिटी भने अझै तयार नभएकाले त्यस उपर छलफल जारी रहेको प्रवक्ता ज्ञवालीको भनाई छ । अध्यक्ष ओलीले पार्टी एकताका लागि गरेको ६ बुँदे आह्वानका आधारमा यो बैठक बोलाउन लागिएको उहाँले जानकारी दिनुभयो । बैठक २ गते बोलाउने तयारी रहेपनि मिति किटान नगरिएकाले २ गते नै बस्ने निश्चित छैन । ओलीले संयुक्त बैठकको गृहकार्य गर्दै गर्दा नेपाल पक्ष यसमा सहभागी हुने हो या अन्य कुनै रणनीति अख्तियार गर्ने हो त्यो भने हेर्न बाँकी छ ।


