एन्फा विवाद समाधान गर्न गठित समितिले बुधबार प्रतिवेदन बुझाउने
३२ श्रावण २०७८, सोमबार २०:३९
३२ साउन २०७८,काठमाण्डौं
अखिल नेपाल फुटबल संघ(एन्फा)को विवादको विषयमा छानविन गर्न गठित समितिले बुधबार प्रतिवेदन बुझाउने भएको छ ।
एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीच विवादको छानविन गर्न राष्ट्रिय खेलकुद परिषदले समिति गठन गरेको थियो । छानविनका क्रममा १४ जनाको बयान लिएको र त्यसअनुसार आवश्यक कागजात संकलन गरेको समितिले जनाएको छ । मितिले अन्तिम दिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, दुई सञ्चारकर्मी, कप्तान किरण चेम्जोङ, प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र इक्वेस्ट्रीएन संघका अध्यक्ष रवि राजकर्णिकारसँग बयान लिएको हो । बयान दिएका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफू छानविन प्रक्रियाबाट सन्तुष्ट रहेको अभिव्यक्ति दिनुभएको छ । यता वरिष्ठ उपाध्यक्ष नेम्बाङले छानविनको जिम्मेवारी मन्त्रालयबाट राखेपसम्म पुग्नुले नै एन्फा नेतृत्वको असफलता रहेको बताएका छन् । एन्फाको कार्यकारी समितिको आपतकालिन बैठकले विवाद समाधान गर्न नसकेपछि छानविनका लागि एन्फाले युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको थियो । मन्त्रालयले राखेपलाई छानबिनका लागि पत्र काटेको थियो । गत साता राखेपले सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो । सोही समितिले मंगलबारबाट बयान सुरु गरेको थियोे ।

