उपसभापति निधिले दिए देउवालाई चुनौति
६ असार २०७८, आईतवार ०८:३३
६ असार २०७८ आइतबार, काठमाण्डौं
आसन्न १४ औं महाधिवेशनमा पनि सभापति उठ्ने तयारी थालेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उपसभापति विमलेन्द्र निधिले चुनौती दिनुहुने भएको छ ।
आफु निकट नेताहरुसँग छलफल थालेका देउवाले शनिबार दिउँसो प्रदेश २ का नेताहरुलाई भेट्नुभएको थियो । देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा उपसभापति निधि, आनन्द ढुंगाना, जंगीलाल रायलगायतका नेताहरु सहभागी थिए ।देउवाले आफू सभापति उठ्ने भन्दै धेरैभन्दा धेरै महाधिवेशन प्रतिनिधि जुटाउन आग्रह गर्दैगर्दा उपसभापति निधिले, आफू पनि सभापतिमा उम्मेदवारी दिने तयारीमा रहेको बताएका थिए । उपसभापति नीधिले, देउवालाई प्रधानमन्त्री बन्न आफ्नो तर्फबाट हुनसक्ने सहयोग हुने तर, सभापतिमा देउवाले आफुलाई सहयोग गर्नुपर्ने बताएकाथिए । नीधिले आफु देउवाको समर्थनमा सभापति लड्ने तयारीमा रहेको बताएकाथिए ।
बिगत लामो समयदेखि आफ्नो समूहमा रहेका निधिको यो प्रस्तावलाई भने सभापति देउवाले सहज रुपमा नलिएको एक नेताले बताए । उनका अनुसार देउवाले ‘लड्ने भए लड्नुस्, त्यो तपाईंको अधिकार हो’ भन्ने प्रतिक्रिया दिएका थिए । निधिले भने आफू लामो समयदेखि टिममा रहेको र देउवाकै समर्थनमा सभापति लड्न चाहेको बताएका थिए । उनले सभापति देउवालाई सभापतिमा चुनाव लड्ने तयारीबारे पुनर्विचार गर्न समेत आग्रह गरेको एक नेताले बताए । देउवाले भने निधिलाई अर्को पटक सभापति लड्न आग्रह गरेको उनको सचिवालय स्रोतले बताएको छ ।

