असार २५ गतेभित्र सबै किसिमका कर चुक्ता गर्न सूचना जारी
३ असार २०७८, बिहीबार १२:२१
३ असार २०७८ बिहिबार
सरकारले असार २५ गतेभित्र सबै किसिमका कर चुक्ता गर्न सूचना जारी गरेको छ ।
आन्तरिक राजस्व विभागले हिजो सूचना जारी गर्दै निषेधाज्ञा अवधिपछिको कर विवरण तथा रकम असार २५ गतेभित्र बुझाउन भनेको हो । सर्वोच्च अदालतले बन्दाबन्दीका बेला पनि कर उठाउन र जरिवाना समेतको व्यवस्था गर्न कुनै बाधा नपर्ने आदेश गरिदिएपछि विभागले यस्तो सूचना जारी गरेको हो । यसअघि बन्दाबन्दी पूर्णरुपमा सकिएको मितिदेखि बाटोको म्यादबाहेक ३० दिनसम्म कुनै पनि जरिवाना नलिन सरकारका जेठ ५ गते अन्तरिम आदेश दिएको थियो । तर गएको मंगलबार आदेशलाई सर्वोच्चले नै खारेज गरेको थियो । सर्वोच्चले आर्थिक ऐन २०७७ को दफा १९ को व्यवस्था अनुसार नै गर्न आदेश दिएको थियो । विभागको सूचनामा मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क, शिक्षा सेवा शुल्क, टेलिफोन सेवा शुल्क, दूरसञ्चार सेवा शुल्क र अग्रिम करकट्टीको विवरण र कर दाखिला गर्न असार २५ गतेको सीमा तोकेको हो। असार २५ सम्म सबै कर चुक्ता नगरे नियमानुसार गरिवाना लाग्नेछ ।

