२०८२ असार २४, मङ्लबार

   2025, Jul 8 Tuesday

पाँच विद्यार्थी संगठनले भोलिदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्दे

२३ असार २०७८, बुधबार ०८:१३

२३ असार २०७८, काठमाण्डौं

सरकारविरुद्ध सडक आन्दोलनमा रहेका पाँच विद्यार्थी संगठनले भोलिदेखि दोस्रो चरणको आन्दोलनका कार्यक्रम गर्ने भएका छन् ।
हिजो अखिल (क्रान्तिकारी) को बागबजारस्थित कार्यालयमा बसेको बैठकले भोलिदेखि गरिने दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । निर्धारित आन्दोलनको कार्यक्रम अनुसार, भोलि देशव्यापी सिट्ठी जुलुश, असार २७ गते माईतीघर मण्डलामा शंख फुकेर विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । पाँच विद्यार्थी संगठनले उपकुलपतिसहितका पदाधिकारीका कारण धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरासायी हुने अवस्थामा पुगेको भन्दै उपकुलपति डा. ज्ञानेन्द्र गिरीको राजीनामा माग गरेको छ । शिक्षक सेवा आयोगले लामो समयसम्म परीक्षा बन्द गरेकोले देशभर हजारौं शिक्षक दरबन्दी खाली भएका भन्दै विद्यार्थी संगठनहरुले आयोगको परीक्षा प्रक्रिया तत्काल अगाडि बढाउन माग गरेका छन् । विपक्षी विद्यार्थी संगठनले सरकारले बिमा समितिको विधि र प्रक्रिया मिचेर हिमालयन पुनर्बिमा कम्पनीलाई अनुमति दिएको भन्दै त्यसलाई रद्द गर्न माग गरेको छ । यस्तै चितवनमा २२ वर्षीया सुजिता भण्डारीको रहस्यमय मृत्युको अविलम्ब छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न विज्ञप्तिमा माग गरिएको छ । जनताको जीवनरक्षा र शान्ति सुरक्षाप्रति सरकार गैरजिम्मेवार र पङ्गु भएकोे पाँच विद्यार्थी संगठनले ठहर गरेका छन् । बैठक पश्चात जारी विज्ञप्तिमा नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, अखिल (क्रान्तिकारी) का अध्क्ष रञ्जित तामाङ, अनेरास्ववियू (माधव नेपाल समूह)का अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलले हस्ताक्षर गरेका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV