राष्ट्रियसभाका एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदै
२३ कार्तिक २०७८, मंगलवार १७:४०
२३ कात्तिक, काठमाडौं ।
राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ ।
चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत रहेका छन् । फागुन २१ गते पदावधी सकिएर घर जानेहरुमा नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन सदस्य रहेका छन् । राष्ट्रपतिबाट विषयविज्ञका रूपमा मनोनित सदस्य बिडारीको पनि सोही मितिमा चारवर्षे कार्यकाल समाप्त हुँदैछ । विसं २०७५ असार ४ गते भएको गोला प्रथाद्वारा चार वर्षे पदावधि कायम भएका सदस्यको पदावधि सकिन लागेको हो । स्थायी सदन भएकाले राष्ट्रियसभाका एकतिहाई सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ । सरकारले राजनीतिक दलको सहमतिमा एकतिहाइ सदस्यको रिक्त हुने पदका लागि निकट भविष्यमै निर्वाचनको मिति घोषणा गर्ने यसअघि नै जनाइसकेको छ । सदस्यको पदावधि समाप्त हुनुभन्दा कम्तीमा ३५ दिनअघि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । राष्ट्रियसभा सदस्यका लागि ३५ वर्ष उमेर पुगेको हुनुपर्छ । प्रवुद्ध समूहको प्रतिनिधित्व हुने भएकाले राष्ट्रियसभालाई परिपक्व सदन मानिन्छ ।

