नेकपा एमालेले कारबाही गरेका १४ जना सांसदको पद जोगियो
१४ भाद्र २०७८, सोमबार ०७:५०
भदौ १४ गते काठमाडौ
नेकपा एमालेले कारबाही गरि सांसद पदबाटै मुक्त गर्न संसद सचिवालयलाई पठाएको माधव कुमार नेपाल सहितका १४ जना सांसदहरुलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त गर्न नमिल्ने निर्णय गरेका छन् ।
आइतबार सभामुख सापकोटाले उनीहरुमाथि गरिएको कारबाहीको सूचना प्रकाशित नगर्ने निर्णय गरेको जनाईएको छ । एमालेले पार्टी विभाजनमा लागेका माधवकुमार नेपाललगायत १४ जना प्रतिनिधिसभाका सांसदलाई कारबाही गर्दै पदमुक्तका लागि भदौ १ गते संसद सचिवालयलाई पत्र लेखेको थियो । तर, सभामुख सापकोटाले उनीहरुलाई कारबाही गरिएको सूचना नटासेपछि उनीहरु पदमुक्त भएका थिएनन् । माधवकुमार नेपाललागयत कारबाहीमा परेका सबै तथा थप अन्य सांसदहरुले भदौ २ मा निर्वाचन आयोगमा अर्को दल दर्ताका लागि निवेदन दिएका थिए । निर्वाचन आयोगले यही भदौ ९ गते माधवकुमार नेपालको दल नेकपा (एकीकृत समाजवादी)लाई दल दर्ताको प्रमाण पत्र दिएको थियो । दल दर्तापछि आयोगले संसद सचिवालयलाई नयाँ दल गठन भएको विषयमासमेत जानकारी दिइसकेकाले कारबाहीमा परेका सांसदहरु अब अर्को दलका सांसदहरु भइसकेको भन्दै उनीहरुमाथि कारबाही गर्न नमिल्ने निर्णय सभामुखले लिएको श्रोतले बताएको छ ।

