बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानका लागि कार्यदलले गरेको सिफारिस कार्यान्वयन गर्ने स्वास्थ्य राज्यमन्त्री को भनाई
२२ श्रावण २०७८, शुक्रबार १९:०८
२२ श्रावण २०७८, काठमाण्डौं
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानका लागि कार्यदलले गरेको सिफारिस कार्यान्वयन गर्ने बताउनुभएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उहाले कार्यदलले गरेको सिफारिस सार्वजनिक गर्न प्रधानमन्त्रीको निर्देशन समेत आएको जानकारी गराउनुहुँदै दोषीलाई कारबाही गर्न आफु प्रतिबद्ध रहेको बताउनुभएको हो ।
उहाले प्रतिष्ठानको सिनेट बैठक बोलाएर छानबिन गरी अनियमित र खराब आचरण गर्नेलाई कारबाही गर्न निर्देशन दिएको धारणा राख्नुभयो । उहाले स्वास्थ्य प्रतिष्ठानमा भएको अनियमितामा मन्त्रालय गम्भीर रहेको बताउनुभयो । सार्वजनिक महत्वको संस्थाहरुलाई जथाभाबी गर्न नदिन अनुगमन संयन्त्र बनाउनुपर्ने उहाको भनाई छ ।
बैठकमा समिति सदस्यहरुले प्रतिष्ठान लगायत अत्यावश्यक सेवा दिने र जनसरोकारसँग प्रत्यक्ष सम्बन्ध राख्ने संस्थालाई व्यवस्थीत बनाउनुपर्ने धारणा राखेका थिए । उनीहरुले प्रतिष्ठानको संरचनालाई नै परिवर्तन गर्नुपर्ने जरुरी रहेको बताए ।
यसअघि छानबिन कार्यदलले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको आचरण र व्यवहार, खरिद प्रक्रिया लगाएत बिभिन्न क्षेत्रगत विषयमा सुधारका लागि सिफारिस गरेको थियो ।

