मन्त्रालयले दिने कोभिड तथ्यांकमै गडबडी
१५ श्रावण २०७८, शुक्रबार १२:५०
१५ साउन २०७८, काठमाण्डौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक दिन अपडेट गर्ने कोभिड–१९ संक्रमणको तथ्यांकनै त्रुटीपुर्ण हुने गरेको तथ्य भेटिएको छ। दैनिक पीसीआर परीक्षण र संक्रमितको तथ्यांकमा ‘मिसम्याच’ देखिएको हो।
यही साउन ९ देखि १३ गतेसम्म चिकित्सा शिक्षा आयोगले एमबीबीएसका विद्यार्थीको एकीकृत प्रवेश परीक्षा लिएको थियो। परीक्षामा सहभागी विद्यार्थीलाई पीसीआर परीक्षण अनिवार्य गरिएको थियो। परीक्षा दिन ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट आयोगले अनिवार्य गरेको थियो। त्यसैअनुरुप परीक्षामा सहभागी हुने करिब ३२ हजार विद्यार्थीले सो अवधिमा पीसीआर परीक्षण गराए । तर सो अबधीमा एमबीबीएसका परीक्षार्थीको पीसीआर परीक्षणको तथ्याङ्क र मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कको तुलनात्मक अध्ययन गर्दा सरकारले हरेक दिन ‘ब्रिफिङ’ गर्ने सूचना नै गडबडीपूर्ण रहेको पाईएको छ ।
साउन पहिलो साता देशभरका प्रयोगशालाबाट दैनिक ८ हजारको हाराहारीमा पीसीआर परीक्षण हुँदै आएको थियो। आयोगको परीक्षा ९ गतेबाट सुरु हुने भए पनि दोस्रो साता परीक्षण केहीमात्र बढेको देखिएकोले पनि स्वास्थ मन्त्रालयबाट हुने ब्रिफिंग शंकाको घेरामा परेको हो ।
परीक्षामा सहभागी हुने विद्यार्थीले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट अनिवार्य रुपमा देखाउनुपर्ने थियो। सोहीअनुसार ३२ हजार ६६९ विद्यार्थीले पीसीआर परीक्षण गरी रिपोर्ट देखाएर परीक्षामा सहभागी भएको चिकित्सा शिक्षा आयोगले जनाएको छ । साउन ९ गतेको पहिलो दिन एमबीबीएसको परीक्षामा मात्रै ११ हजार ४२ जना परीक्षार्थी कोरोना रिपोर्टसहित सामेल भएका थिए । ९ गतेको परीक्षामा ११ हजार ४२ जना परीक्षार्थी पीसीआर रिपोर्टसहित उपस्थित भए पनि मन्त्रालयको तथ्यांकमा भने त्यो देखिएको छैन। अघिल्लो साताको तुलनामा ११ हजार संख्या बढ्नुपर्नेमा जम्मा साढे चार हजारमात्रै बढेको देखिएको छ।

