भारतमा मन्त्रिपरिषद पुनर्गठन, ४३ जना मन्त्रीले लिए सपथ
२४ असार २०७८, बिहीबार १३:३०
२४ असार २०७८, काठमाण्डौं
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ ।
राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले नयाँ ४३ जना मन्त्रीलाई सपथ ग्रहण गराउनुभएको हो ।
मोदीको नयाँ मन्त्रिमण्डलमा १२ जना महिला अनुहार रहेका छन् । १४ मन्त्रीको उमेर ५० वर्षभन्दा कम छ भने १८ जना पूर्वराज्य मन्त्री भएका छन् । चारजना पूर्वमुख्य मन्त्री भएका छन् । नयाँ मन्त्री हुनेहरुमा १३ जना वकिल, ६ जना डाक्टर र पाँचजना इन्जिनियर छन् । क्याबिनेटमा अधिकांश युवाहरू र सीमान्तकृत समुदायबाट प्रतिनिधित्व गराइएको छ । मोदीको नयाँ क्याबिनेटमा पाँच अल्पसंख्यक मन्त्री भएका छन् । जसमा १ मुस्लिम, १ शिख, १ बौद्ध र १ इसाइ धर्मावलम्वी छन् । आठजना जनजाति मन्त्री भएका छन् । दोस्रो कार्यकालमा मोदीले पहिलोपटक मन्त्रिपरिषद् फेरबदल गरेका हुन् । यसपटक मोदीले सबैभन्दा बढी मन्त्री मन्त्रिमण्डलमा समावेश गरेका हुन् । यसअघि सन् २०१४ मा पहिलोपटक गठन गरिएको मन्त्रिमण्डलमा ७ र २०१९ मा ६ महिला मन्त्री बनेका थिए । आगामी विधानसभा र राज्यसभाको चुनावलाई लक्षित गर्दै मोदीले मन्त्रिपरिषदमा परिवर्तन गरेका हुन् । प्रधानमन्त्री मोदीले मन्त्रिपरिषद पुनर्गठन गर्नु पूर्व १२ जना मन्त्रीले राजीनामा दिएका छन् ।

