डा. भट्टराइ को चिन्ता
१४ आश्विन २०७६, मंगलवार १६:१७
१४ असोज, काठमाडौं । गोरखाका नेताहरुले बुढीगण्डकी जलविद्युत आयोजनामा भइरहेको ढिलाइप्रति चिन्ता जनाएका छन् ।

मंगलबार गोरखा पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा केन्द्रीय सदस्य हरिराज अधिकारीले बुढीगण्डकी आयोजनामा ढिलाइ हुँदा गोरखाको विकास पछि परेको बताए ।

नेता भट्टराईले बुढीगण्डकी आयोजना नेपालीले नै बनाउने मोडलमा नगए आयोजना नबन्ने खतरा देखेको बताए । आयोजना क्षेत्रका स्थानीय वासिन्दाको सहयोग हुँदाहुँदै पनि आयोजना अघि बढ्न नसक्नु दुर्भाग्य भएको बताए ।
जनताले अत्यन्त ठूलो सहयोग गरेका छन्, स्थानीय वासिन्दाले कुनै विरोध नगरी मुआब्जा लिएको घटना कमै पाइन्छ’ उनले भने ‘दुर्भाग्यवश यति हुँदा पनि अवरुद्ध भइरहेको छ ।’
नेता भट्टराईले गोरखकाली रवर उद्योग अब नयाँ ढंगले सञ्चालन गर्नुपर्ने र गोरखा जिल्लामा अर्को औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने बताए । जिल्ला विकासको मुुख्य आधार धार्मिक साँस्कृतिक पर्यटन हो भन्दै उनले जिल्लाका सबै धार्मिक, पर्यटकीय क्षेत्र जोड्ने गरी एउटा सर्किट बनाउनुपर्ने बताए । ‘धार्मिक, साँस्कृतिकस्थल जोड्ने सडक गोरखाका लागि गेमचेन्जर आयोजना बन्न सक्छ’ उनले भने ।
गोरखामा पछिल्लो समय ठेक्कापट्टामा लिने र काम नगर्ने प्रवृत्ति बढेको भन्दै यसलाई राजनीतिक दल र कर्मचारीले सघाएको भट्टराईले आरोप लगाए । ‘त्यसैले अहिले गोरखाको विकास निर्माण करिब करिब ठप्प छ’ उनले भने ‘कुन खालको भ्रष्टाचार छ भन्ने कुरा पत्रकारले उजागर गर्नुपर्छ ।’
प्रतिनिधिसभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य हरिराज अधिकारीले बुढीगण्डकी आयोजना अलपत्र हुँदा जिल्लाको विकास पछि परेको बताए । ‘आरुघाट र खहरेको मुआब्जा तोक्न हामी जति लागे पनि सकेनौं’ उनले भने ‘यति ठूलो आयोजना अलपत्र छ, बुढीगण्डकी बनेदेखि जिल्लाको विकास धेरै माथि उठ्ने थियो ।’

