विपत्को व्यवस्थापन तथा राहतकार्यलाई प्रभावकारी रुपमा अघि बढाउन प्रधानमन्त्री को निर्देशन
११ असार २०७८, शुक्रबार २१:३५
११ असार काठमाण्डौं
प्रधानमन्त्री केपि शर्मा ओलीले सिन्धुपाल्चोक जिल्लामा हालैको प्राकृतिक विपत्को व्यवस्थापन तथा राहतकार्यलाई तत्काल प्रभावकारी रुपमा अघि बढाउन सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेल, इन्चार्ज रामबहादुर थापासहितको टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले विस्थापित परिवारको उचित व्यवस्थापन गर्न निर्देशन दिनुभएको हो । उहाले बिपद्मा राजनीति गर्ने तर्फ नभइ जनताको सेवामा जुट्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पेश गर्दै एमाले वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्द पोखरेलले मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको सम्पूर्ण उपचार खर्चको व्यवस्थापन, बहु आयामिक विज्ञ प्राविधिक टोली खटाई डिटेल सर्वे मार्फत पूनः निर्माणको लागि लागत अनुमान र बजेट व्यवस्था गर्न माग गरिएको बताउनुभयो ।
सिन्धुपाल्चोकमा असार १ गते पछि परेको अबिरल वर्षापछि उत्पन्न बाढी पहिरोका कारण १६ जनाको मृत्यु र ४०० परिवार विस्थापित भएका छन् ।

