तोकिएकै समयमा पार्टीको महाधिवेशन गर्न दबाब
२० जेष्ठ २०७८, बिहीबार १४:३३
जेठ २० २०७८, बिहिबार
नेपाली कांग्रेसको संस्थापतइतर समूहका नेताहरुले तोकिएकै समयमा पार्टीको महाधिवेशन गर्न दबाब बढाएका छन् ।
महाधिवेशन तोकिएकै समयमा नहुने आशंका गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला पक्षले सभापति शेरबहादुर देउवामाथि समयमै महाधिवेशन गर्न दबाब बढाएका हुन् ।
आगामि भदौ ७ देखि १० सम्मका लागि तय भएको महाधिवेशन सम्पन्न गर्न पार्टी सभापति देउवा पक्षले कम चासो देखाएको वरिष्ठ नेता पौडेल र नेता सिटौलाको बुझाइ छ । संविधानले दिएको अधिकार समेत प्रयोग गरी बढाइएको ६ महिनाको अवधि भदौमा सकिँदैछ।
महाधिवेशन समयमा हुन सकेन भने दलको वैधानिकताका साथै अस्तित्वमा समेत प्रश्न उठ्ने छ । महाधिवेशनका लागि सभापतिको सार्थक पहल हुन नसकेको जनाउँदै संस्थापन इतरका नेताहरु आन्तरिक छलफलमा समेत सक्रियता बढाएका छन् ।
नियमित समय जस्तै परिस्थिति नभएकाले मोडालिटी परिवर्तन गरेर भएपनि महाधिवेशन गर्नुपर्ने तर्क संस्थापनइतरमा उठेको छ । त्यसकै लागि बुधबार पौडेल पक्षका नेताहरु भर्चुअल छलफलमा जुटेका थिए । आज नेता डा शेखर कोइरालाको अगुवाइमा महाधिवेशन केन्द्रित छलफल समेत राखिएको छ । महाधिवेशन समयमा गर्नका लागि मोडालिटीका बारेमा छलफल गरिने जनाइएको छ ।


