खेलकुद मन्त्रालयद्धारा वार्षिक कार्यप्रगति विवरण सार्वजनिक
३ चैत्र २०७५, आईतवार १५:३५
युवा तथा खेलकुद मन्त्रालयले वार्षिक कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दे युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले आफूले मन्त्रालय सम्हालेपछि भएका कार्य प्रगति विवरण सार्वजनिक गर्नुभएको हो । उहाले सार्वजनिक गरेको प्रगति विवरणमा पूर्वाधार निमार्णसँगै, पुरस्कार प्रोत्साहन र सम्मान तथा निर्दे्शिका कार्यविधि निर्माण र संशोधनलगायत उल्लेख गर्नुभएको छ । उहाको कार्यप्रगतीमा पूर्वाधार निर्माणमा विशेषगरी ३ पटक मिति सारेर मंसिरमा आयोजना हुने भनिएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) र आठौं राष्ट्रिय खेलकुद केन्द्रित छ । मन्त्री विश्वकर्माले १३ औं दक्षिण एशियाली खेलकुदलाई मध्यनजर गर्दै आठौं राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । यस्तै मन्त्रालयले एक मात्र अन्तर्रा्ष्ट्रिय रंगशाला दशरथ रंगशालाको स्तरोन्नति ८० प्रतिशत सम्पन्न भएको उल्लेख गरेको छ । वार्षिक प्रतिवेदनमा अन्तराष्ट्रिय खेलकुद परिसर निर्माणको लागि भक्तपुरमा १ हजार ५ सय रोपनी जग्गा प्राप्तीको प्रक्रिया सुरु, ७ वटै प्रदेशमा अन्तर्रा्ष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने गरी १–१ आधुनिक सेवासुविधायुक्त रंगशाला निर्माणको थालनी मूलपानी क्रिकेट मैदानको जग्गा सम्बन्धी समस्या हल भएको, पौडी पोखरी र सुटिङ रेन्ज निर्माण कार्य सम्पन्न भएको उल्ल्ेख छ । मन्त्रालयले वार्षिक खेलकुदतर्फ अन्तराष्ट्रिय स्तरका ३ प्रतियोगिता आयोजना गरेको र ११ प्रतियोगितामा सहभागि भएको मन्त्री विश्वकर्माले जानकारी दिनुभयो ।
पुरस्कार प्रोत्साहन र सम्मानतर्फ सिरिज विजेता क्रिकेट खेलाडीलाई जनही ५ लाख, फुटबल खेलाडीलाई जनही ३ लाख, एशियन खेलमा रजत विजेता खेलाडीलाई ५ लाख, विश्व शारीरिक सुगठन च्याम्पीयनसिप विजेता खेलाडीलाई पाँच लाख प्रदान गरेको लगायत उल्लेख छ ।
यस्तै मन्त्रालयले कानुन निर्माण र संशोधन गरेको जनाएको छ । खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेस गरेको, खेलकुद संघमा विद्यमान विवाद र समस्या हल गर्ने प्रयास र समाधान हुने क्रममा रहेको उल्लेख छ ।

