दाङ पुगेका भट्टराईले किन सम्झे महरालाई
११ मंसिर २०७६, बुधबार १६:४०
समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सम्झेको जनाएका छन् । तत्कालीन नेकपा माओवादीका तर्फबाट २०६० साल साउन ३२ देखि भदौ २ गतेसम्म वार्ता गरेको हापुरेस्थित घरमा बुधबार पुगेका भट्टराईले त्यहाँ राखिएका फोटो हेरेपछि महराको सम्झना आएको उल्लेख गरेका छन्। हापुरेस्थित शिवलाल खत्रीको घरमा त्यसबेला सरकार(माओवादी वार्ता भएकोले त्यस घरलाई ‘वार्ता घर’ राखिएकोमा रोमाञ्चक अनुभूति भएको भट्टराईको भनाइ छ । वार्ता कोठामा कृष्णबहादुर महरा र भट्टराईले सँगै खिचेको छुट्टाछुट्टै फोटो पनि टाँगिएको बताएका छन् । माओवादी शान्ति प्रक्रियामा आएपछि भट्टराई तत्कालीन माओवादी केन्द्र परित्याग गरी नयाँ पार्टी खोलेर राजनीतिमा सक्रिय छन् भने महरा संसद सचिवालयकी एक कर्मचारीलाई जबरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा छन्। भट्टराई आउँदो शनिबार हुने उपनिर्वाचनका लागि समाजवादी पार्टीका उम्मेदवारलाई भोट माग्न दाङ पुगेका थिए ।

