सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न योजनावद्ध कदम चाल्ने गठबन्धनको निर्णय
१० श्रावण २०७८, आईतवार १२:१७
१० साउन २०७८, काठमाण्डौं
पाँच दलीय सत्तारुढ गठबन्धनका नेताहरुले गठबन्धनलाई थप प्रभावकारी बनाउँदै सरकार सञ्चालनमा सहयोग गर्ने सहमति गर्नुभएको छ ।
प्रधानमन्त्री निवासमा हिजो साँझ बसेको गठबन्धनको बैठकले गठबन्धनलाई प्रभावकारी बनाउँदै सरकारलाई समेत प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्रिपरिषद् विस्तार, समसामयिक राजनीतिक परिस्थिति, सरकारका भावी योजना, महामारी नियन्त्रणको प्रयासलगात विषयमा शीर्ष नेताहरूबीच गम्भीर विचार विमर्श भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का प्रेस विज्ञ विष्णु सापकोटाले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहाल, नेकपा(एमाले)का नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीको सहभागिता थियो । हिजो नै माओवादी केन्द्रका अध्यक्ष दाहाल र पूर्वप्रधानमन्त्री नेपालबीच कोटेश्वरस्थित नेता नेपालको निवासमा समसामयिक विषयमा छलफल भएको थियो ।

