विश्वकप फुटबलको छनोट चरणको खेलमा आज नेपालले चाईनिज ताईपेसँग खेल्दै
२० जेष्ठ २०७८, बिहीबार १९:२६
२० जेठ २०७८, बिहिबार
विश्वकप फुटबलको छनोट चरणको खेलमा आज नेपालले चाईनिज ताईपेसँग खेल्दैछ । खेल आज नेपाली समय अनुसार राती पौने १० बजे कुवेतमा खेलिंदै छ ।
चाईनिज ताईपेविरुद्धको हेड टु हेडमा नेपाल बलियो देखिएको छ । दुई देशबिच अहिलेसम्म भएका दुई भिडन्तमध्ये एक खेल नेपालले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ । जारी विश्वकप छनौटको पहिलो लेगको खेलमा नेपालले चाईनिज ताइपेइलाई उसैको मैदानमा २–० ले हराएको थियो । नेपाल आज सोही लय दोहो¥याउने अभियानमा रहेको छ । नेपालले अर्को वर्ष हुने विश्वकप फुटबल छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै सन् २०२३ मा हुने एसिया कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर रहेको छ ।
चाइनिज ताइपेइपछि नेपालले अष्ट्रेलिया र जोर्डनसँग दुई खेल खेल्न बाँकी छ । समूह ‘बी’ मा नेपाल ३ अंकसहित चौथो स्थानमा रहेको छ भने अंकविहिन चाइनिज ताइपेइ पुछारमा रहेको छ । ४ खेलबाट १२ अंक जोडेको अष्ट्रेलिया पहिलो स्थानमा छ । ५ खेलबाट समान १० अंक बनाएका कुवेत र जोर्डन गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।


