महानगरबाट स्वयम्भू र हनुमानढोका दरबार क्षेत्रलाई जोड्ने गुरुयोजना सार्वजनिक
५ बैशाख २०७६, बिहीबार १५:५५
५ बैशाख, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दुई हजार २०० मिटरको दूरीमा रहेका दुई विश्व सम्पदा क्षेत्र स्वयम्भू र हनुमानढोका दरबार क्षेत्रलाई जोड्ने गुरुयोजना सार्वजनिक गरेको छ ।
बिहिबार विश्व सम्पदा दिवस २०७६ को अवसरमा काठमाडौंको हनुमानढोकाबाट महानगरले उक्त गुरुयोजना सार्वजनिक गरेको हो । सम्पदा पदयात्रा नाम दिइएको गुरुयोजनामा संस्कृति तथा रीतिस्थितिलाई पर्यटकीय व्यवस्थापनसँग जोडेर स्थानीय जीविकोपार्जन सुधार गर्ने र मूर्त अमूर्त सांस्कृतिक पक्षको पुस्तान्तरण गर्ने कामलाई लक्ष्य बनाइएको महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । स्वयम्भू र हनुमानढोकाबीचमा अवलोकनयोग्य प्रशस्त संरचना रहेकाले यी स्थान तय गरिएको उहाले बताउनुभयो ।
काठमाडौँ महानगरका मूर्त एवं अमूर्त सम्पदाको पहिचान, पुस्तान्तरण तथा सम्वद्र्धनको कार्यमा पनि गुरुयोजना महत्वपूण हुने महानगरको विश्वास छ । दुई सम्पदालाई पदमार्गमार्फत जोड्ने योजना यसअघि समेत चर्चामा आउने गरेको थियो । तर, यसको कार्यान्वयन भने हुन सकेको थिएन । यसका लागि करिब १० करोड रुपैयाँ लागत लाग्ने अनुमान महानगरपालिकाको छ । यस क्षेत्रका सम्पदाको पहिचान, पुस्तान्तरण र संवद्र्धनमा यो योजना महत्वपूर्ण हुने विश्वास महानगरपालिकाको छ ।

