भारतीय राष्ट्रपतिद्धारा नेपाल भ्रमणको निमन्त्रणा स्वीकार
५ कार्तिक २०७६, मंगलवार १३:३६
राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान जापानमा भेटवार्ता भएको छ । सो अवसरमा भारतीय राष्ट्रपति कोविन्दले आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिएकोमा राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गर्दै भ्रमणको निमन्त्रणा स्वीकारी कूटनीतिक तहबाट भ्रमणको व्यवस्था मिलाइने जानकारी दिए। भारतबाट सहयोग प्राप्त आयोजनाहरूले नेपालमा तीव्रता पाएका बारे छलफल हुनाका साथै पेट्रोलियम पाइपलाइन निर्धा्रित समयभन्दा छिटो बन्नु नमूनायोग्य काम भएको भेटवार्तामा उल्लेख गरिएको छ । दुवै पक्षले अन्य आयोजना पनि छिट्टै बन्ने विश्वास व्यक्त गरे । सो अवसरमा नेपालका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागीजापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं भारतीय पक्षबाट विदेश सचिव विजय गोख्ले, जापानका लागि भारतीय राजदूत सञ्जय वर्मालगायत सहभागी थिए। सन् २००६ मा सांसद हुँदा भने कोविन्दले नेपाल भ्रमण गरेका थिए ।

