बजेट वक्तव्यमा भनिए जस्तो अर्थतन्त्रको विस्तार ६.५ प्रतिशत हुने आधार नभएको नेपाली कांग्रेस को जिकिर
१७ जेष्ठ २०७८, सोमबार १९:५६
२०७८ जेठ १७ सोमबार
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बजेट वक्तव्यमा भनिए जस्तो अर्थतन्त्रको विस्तार ६.५ प्रतिशत हुने कुनै आधार नभएको जनाएको छ ।
बजेटका बिषयमा सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै कांग्रेसले बजेटले दीर्घकालीन दायित्व सिर्जना गरेको र अतिरिक्त, ऋणभार सिर्जना गरेको भन्दै अर्थतन्त्रको विस्तार पनि ६.५ प्रतिशत हुने सम्भव नदेखिएको जनाएको हो । पत्रकार सम्मेलनमा कांग्रेस नेता मीनेन्द्र रिजालले जनताको आँखामा छारो हाली शासन गर्न सकिन्छ भन्ने सरकारी मनोकांक्षाबाट सरकार ग्रसित छ भन्ने ठोस प्रमाण बजेट वक्तव्यले प्रस्तुत गरेको बताउनुभयो । उहाले खोप लगाउने, कोभिड संक्रमण फैलिन नदिने, संक्रमितलाई उपचार गरेर जोगाउने सरकारी जिम्मेवारी बजेट किताबमा रकम छुट्याएर मात्र पुरा नहुने धारणा राख्नुभयो । नेता रिजालले बजेटमा समावेश गरिएको योजना कार्यान्वयन गर्ने क्षमता नरहेको र भ्रमको खेती गरी जनमत प्रभावित गर्ने भन्ने सरकारी दुरासय बजेट वक्तव्यमा प्रष्ट रहेको जिकिर गर्नुभयो । उहाले बजेटले जनतामा कुनै आशा जागृह गर्न नसक्ने पनि टिप्पणी गर्नुभयो ।
त्यस्तै रिजालले प्रधानमन्त्री, अर्थमन्त्री र पहुँचवाला सरकारी नेताहरुको निर्वाचन क्षेत्रमा अन्यायपूर्ण अत्याधिकरुपमा बजेट विनियोजन भएको सुन्दा आहतमा परेका नागरिकको विवेकमा अपमान भएको बताउनुभयो ।


