प्रधानमन्त्रीले मुलुकलाई संकठमा धकेल्न खोजेको देउवाको आरोप
१० असार २०७८, बिहीबार १८:३१
१० असार २०७८,बिहिबार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले मुलुकलाई संकठमा धकेल्न खोजेको आरोप लगाउनुभएको छ ।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा बिपक्षी गठबन्धनले सम्पादकहरुसंग गरेको छलफलमा उहाले दुई पटक संसद विघटन, अध्यादेशबाट मुलुक सञ्चालन गर्न खोज्ने काम प्रधानमन्त्रीले गरेको र यसले मुलुकलाई संकटमा धकेल्न काम भएको बताउनुभएको हो । उहाले बहुमत सांसदहरुको दावी राष्ट्रपतिबाट अस्वीकार गरेपछि पाँच दल अदालत जानुपरेको जिकिर गर्नुभयो । प्रधानमन्त्रीको असंवैधानिक कदमको बिरुद्ध आवश्यक परे जनपरिचालन गर्ने उहाले बताउनुभयो । सबै मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायसँग नेपालको संविधानमा उल्लेखित राष्ट्रिय हितमा आधारित स्वतन्त्र परराष्ट्र नीतिको आधारमा सुमधुर सम्बन्ध कायम गर्न चाहेको पनि उहाले बताउनुभयो । उहाले नेपालको गौरव र स्वाभिमानलाई ध्यानमा राख्दै नेपालको बारेमा नेपालीहरुले नै निर्णय गर्ने कुरामा अटल विश्वासका साथ बदलिदो विश्व परिवेशमा राष्ट्रिय हितको रक्षा लोकतान्त्रिक प्रणालीको आधारमा गर्नुपर्दछ भन्ने मान्यता राखेको जिकिर गर्नुभयो ।
त्यस्तै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशको स्वाधिनता, स्वाभिमान र राष्ट्रहितको रक्षाका लागि संघर्ष गरिरहेको बताउनुभयो । उहाले ओलीको अहंकारले संसद विघटन गरेपनि कोर्स करेक्सन गर्न सकिने जिकिर गर्नुभयो । गल्ती स्वीकार गरेर कोर्स करेक्सन गर्न तयार भए प्रधानमन्त्री ओलीलाई पनि स्वागत गरिने उहाको भनाई छ । उहाले संविधान र लोकतन्त्र जोगाउन सकरात्मक सोच राख्ने सबैसँग सहकार्य हुने धारणा राख्नुभयो ।
त्यस्तै जसपा अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रलाई समाप्त पारेर ओलीले निरंकुश सासन चलाउन चाहेको आरोप लगाउनुभयो । अध्यादेशमार्फत शासन चलाउने, संवैधानिक अंगहरु तहसनहस पार्दै मुलुकलाई स्वेच्छाचारी र निरकुशतातिर लैजाने प्रयत्नमा लागेको उहाको भनाई छ । त्यस्तै उहाले राष्ट्रपतिले समेत संविधानको पालना गर्न नसकेको तर्क गर्नुभयो ।
यादवले लोकतन्त्र र संविधानको रक्षाका लागि बिपक्षी गठबन्धनले राजनीतिक र कानुनी रुपमा लडिरहेको र आगामी दिनमा समेत गठबन्धन मिलेरै अघि बढ्ने जिकिर गर्नुभयो ।


