नेकपा एमाले एकता कार्यदलको बैठक आज पनि बस्दै
२५ असार २०७८, शुक्रबार १०:४८
असार २५, २०७८ काठमाण्डौं
नेकपा एमाले एकता कार्यदलको बैठक आज पनि बस्दैछ ।
पार्टी भित्रको संस्थापन र इतर पक्षवीचको विवाद समाधान गरि एकता कायम राख्नकालागि समझदारी गर्न गठित कार्यदलको बैठक पुन आज विहान ११ बजे बस्न लागेको हो ।
कार्यदलको बैठक लगातार ५ दिन यता बस्दै आएको छ । सोही क्रममा हिजो साँझ समेत सहमतिको अन्तिम टुङगो लगाउने भनि बैठक बसेको थियो । तर सो बैठक मुल विषय प्रवेश नै नगरी स्थगित भएपछि आजको बैठक तय गरिएको हो । सहमतिकालागि थप गृहकार्य गर्न हिजो बिहानको बैठकपनि साँझका लागि सारिएको थियो । तर, साँझ सिंहदरबारमा ‘भेला’ भए पनि बैठक विषय प्रवेश नै नगरी स्थगित भएको कार्यदलका सदस्य एवम् एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले जानकारी दिनुभयो । पार्टी एकताको सन्दर्भमा पछिल्लो १० दिनको प्रयासमा पनि खास प्रगति नदेखिएको नेता भुसालको भनाई छ । अध्यक्ष केपी शर्मा ओली पक्षबाट कार्यदलका संयोजक रहनुभएका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले भने आज बस्ने बैठकले वादित विषय टुंगो लगाउने बताउनुभएको छ । बैठकहरुले सकारात्मक निष्कर्षको नजिक पु¥याउन सहयोग गरिरहेको उहाँको भनाई छ । पार्टी भित्र देखिएको विवाद समाधान गरी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालको हस्ताक्षरमा संयुक्त विज्ञप्ती जारी गर्ने गरी कार्यदलका सदस्यहरु छलफलमा हुनुहुन्छ । यसबीचमा बुधबार अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता समेत भएको थियो । कार्यदलमा रहेका नेताहरुले अध्यक्ष ओली र नेपालबीच बुधबार सकारात्मक वार्ता भएको र छिट्टै पार्टी एकतामा महत्वपूर्ण उपलब्धी हासिल हुने बताउँदै आउँनु भएको छ । तर निष्कर्ष अहिले करिब शून्य नै छ । यसैविच, माधव नेपाल पक्षका नेताहरुले ओली पक्षका नेताहरु वार्ताका लागि इमानदार नदेखिएको आरोप समेत लगाउनुभएको छ । ओली पक्षले कार्यदलमा कुनै एजेन्डा नै प्रस्तुत गर्न नसकेको नेपाल पक्षका नेताहरुको आरोप छ ।

