२०८३ बैशाख १, मङ्लबार

   2026, Apr 14 Tuesday

धार्मिक पर्यटन प्रवद्र्धनका लागि ‘बद्रीनारायण धाम’

१७ कार्तिक २०७८, बुधबार १७:५४

काठमाडौँ, १७ कात्तिक ।


काठमाडौँको रामकोटमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि बद्रीनारायण धाम निर्माण गरिएको छ । लामो समयदेखि मुलुकको सामाजिक र आध्यात्मिक रुपान्तरणमा लाग्नुभएका पण्डित स्व नारायण पोखरेलको नाममा स्थापना गरिएको नारायण पोखरेल प्रतिष्ठानले नागार्जुन नगरपालिका–७ रामकोटमा उक्त धाम निर्माण गरेको हो ।
रु कूल २० करोड लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ बद्रीनारायण धाम निर्माण सुरु गरिए पनि उक्त रकम अपुग भएकाले केही रकम थप गरी धाम निर्माण सम्पन्न गर्नका लागि प्रतिष्ठान जुटिरहेको प्रतिष्ठानका कोषाध्यक्ष बद्री पोखरेल बताउनुहुन्छ । “२२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको बद्रीनारायण धाम सम्पन्न गर्नका लागि प्रतिष्ठानले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारसँग सहकार्य गरेर काम गरिरहेको छ”, कोषाध्यक्ष पोखरेल भन्नुहुन्छ । उक्त धाम निर्माणका लागि प्रतिष्ठानलाई सरकारले उक्त जग्गा उपलब्ध गराएको हो ।
प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि नै बृहद् बद्रीनारायण धाम बनाउने लक्ष्य राखेको थियो । चार धाममध्ये विशेष एक धाम रामकोटमा छ भन्ने सन्देश दिनका लागि बद्रीनारायण धाम निर्माण गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । स्व पोखरेल आध्यात्मिक क्षेत्रबाट मुलुकको विकासमा लाग्नुभएको थियो । उहाँले भौतिक विकास नभएसम्म समुन्नत मुलुक निर्माण हुन सक्दैन भन्ने मान्यता राख्दै आउनुभएको थियो ।
विसं २०११ जेठ ३२ गते गोरखाको वगुवामा जन्मनुभएका पोखरेलको २०६२ वैशाख २३ गते रुपन्देहीको रामापुरमा हत्या गरिएको थियो । उहाँ नेपालको पहिलो धार्मिक सहिदसमेत हुनुहुन्छ । स्व पोखरेललाई जनस्तरबाट वाचन शिरोमणिको उपाधि दिइएको थियो । स्व पोखरेलले देशभरका ६५ भन्दा बढी जिल्लामा एक हजार १३६ पुराण वाचन गर्नुभएको थियो । पोखरेलको स्वर्गारोहण भएसँगै २०६४ असोज २३ मा स्थापना भएको नारायण पोखरेल प्रतिष्ठानले उहाँको व्यक्तित्व र कृतित्वलाई जीवन्त राख्नका लागि काम गर्दै आएको छ ।
प्रतिष्ठानका संरक्षक एवं अध्यक्ष वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल स्व नारायण पोखरेललाई जीवन्त राख्नका लागि बृहद् बद्रीनारायण धामसहितको नारायण आध्यात्मिक केन्द्र स्थापना गरिएको बताउनुहुन्छ । “नेपालमा नै ठूलो आध्यात्मिक थलो निर्माण गर्ने प्रतिष्ठानको मुख्य उदेश्य हो”, उहाँ भन्नुहुन्छ । प्रतिष्ठानले हाल बद्रीनारायण धाम परिसरमा बद्रीनारायणको मन्दिर निर्माण गरिरहेको छ ।

विसं २०७८ भित्र सम्पन्न गर्ने लक्ष्यका साथ मन्दिर निर्माण गरेको प्रतिष्ठानले हाल २५ प्रतिशत काम निर्माण सम्पन्न गरिसकेको छ । बद्रीनारायण धाम निर्माणका लागि हाल रु आठ करोड खर्च भइसकेको अध्यक्ष पोखरेलको भनाइ छ । बद्रीनारायण धाम निर्माणका लागि आर्थिक स्रोत जुटाउन प्रतिष्ठानको सक्रिय सहभागितामा हालसम्म दुईपटक श्रीमद् भागवत् महायज्ञ लगाइसकिएको छ । उक्त धाममा बद्रीनारायण मन्दिरबाहेक धामको प्रशासनिक भवन, नारायण पोखरेल प्रतिष्ठानको कार्यालय, योग ध्यान केन्द्र, हवन कुण्ड, गणेश, सूर्य, देवी र शिवसहितको पाञ्चायन मन्दिर निर्माण हुनेछ ।
धार्मिक पर्यटनलाई समेत जोड्ने उद्देश्यले निर्माण हुन लागेको बद्रीनारायण धाम र बद्रीनाराणको मन्दिरभित्र सात फिट उचाइको बद्रीनारायणको मूर्ति निर्माण गरिएको प्रतिष्ठानका सचिव भुवन गिरी बताउनुहुन्छ । “मन्दिरभित्र स्थापना गरिएको मूर्तिले पर्यटकलाई थप आकर्षण गर्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो । रवीन्द्र पुरी फाउण्डेशनले निर्माण गर्न लागेको उक्त मन्दिर प्यागोडा र शिखर शैलीको छ । मन्दिर निर्माणमा मात्र रु चार करोडभन्दा बढी लाग्ने प्रतिष्ठानले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV