आसन्न महाधिवेशनबाट पुनः आफुनै कांग्रेसको सभापति बन्ने देउवाको दाबी
६ असार २०७८, आईतवार ०८:२५
६ असार २०७८ आइतबार, काठमाण्डौं
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न १४ औं महाधिवेशनबाट फेरि सभापतिमा दोहोरिने दाबी गर्नुभएको छ ।
सभापति देउवाले आगामी महाधिवेसनमा आफ्नो उम्मेदवारी दिने आशंकालाई चिर्दै पहिलो पटक आफैले आफ्नो चाहना व्यक्त गरि पुन सभापति बन्ने दाबी गर्नुभएको हो । हिजो शनिबार प्रदेश १ का आफू पक्षीय केन्द्रीय सदस्यसँगको आन्तरिक छलफलमा देउवाले आफूलाई सभापति पदमा निर्वाचित गराउन सहयोगको प्रस्ताव राख्नुभएको थियो । देउवाले आफु निकटस्थहरुसँग, १४ औं महाधिवेशनमा म आफूलाई फेरि सभापतिको उम्मेदवार बनाउँदैछु । म फेरि सभापतिमा उठ्नुपर्ने परिस्थिति बन्यो भन्नु भएको बताइएको छ । देउवाले, पार्टीलाई सशक्त बनाएर संविधान र लोकतन्त्रको जर्गेना गर्दै आगामी १५ औं महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्ने बताउनु भयो । सो सन्दर्भमा पार्टीको विधानले पनि दुई कार्यकाल सभापति हुन पाउने व्यवस्था गरेको देउवाले स्मरण गराउनुभयो । मुलुकको संकटकालीन अवस्थामा आफुले पार्टीको नेतृत्व छोड्दा असफल भएर बीचमै छाडेको देखिने भएकै कारण आफ्नो निरन्तरता रहने बताउनुभयो । विहीबार शुक्रबार दुई दिन बसेको केन्द्रीय कार्यसमिति बैठकबाट भदौ १६–१९ महाधिवेशनको कार्यतालिका पारित भएपछि देउवा आन्तरिक छलफलमा जुट्नु भएको हो । देउवाले १३ औं महाधिवेशनपछि काँग्रेसमा आएका विजयकुमार गच्छदार र सुनील थापा समूहको समस्याबारे पनि चासो राख्नुभएको थियो । सो भेटमा देउवाले आफु निकट केन्द्रीय सदस्यहरुसँग जिल्ला–जिल्लाको वस्तुस्थितिबारे जानकारी लिनुभएको थियो ।

