आज बालश्रम विरुद्वको अन्तराष्ट्रिय दिवस
२९ जेष्ठ २०७८, शनिबार १५:१७
२९ जेष्ठ २०७८, शनिबार
आज बालश्रम विरुद्वको अन्तराष्ट्रिय दिवस, बालश्रम रोकथाम तथा बालकालिकाको अधिकारका लागि विश्वभर विभिन्न कार्यक्रम आयोजना गरि मनाइदैँछ ।
दिवसका अवसरमा कोरोना महामारीका कारण ठुला–ठुला कार्यक्रमहरुको आयोजना नगरिएपनि विश्वभर भर्चुअल माध्यमबाटै कार्यक्रमहरु भैरहेका छन् । नेपालमा पनि विभिन्न संघसंस्थाहरुले भर्चुअल माध्यमबाटै विभिन्न कार्यक्रमको आयोजना गरि बाल श्रमका विषयमा छलफल एवंम हालको अवस्थाबारे समिक्षा गरिरहेका छन् । नेपालको संविधानले कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा अन्य जोखिमपूर्ण काममा लगाउन बन्देज लगाएको छ । बालबालिका सम्बन्धी ऐन, २०७५ ले १८ वर्ष मुनिका व्यक्तिलाई बालबालिका भनेर परिभाषित गरेको छ । तर सरकारी नीति र योजनामा यस्ता कुराहरु उल्लेख गरिएपनि मुलुकमा जोखिमयुक्त बालश्रम नघटेको सरोकारवालाहरुले बताउँदै आएका छन् । केन्द्रीय तथ्यांक विभागबाट गरिएको नेपाल श्रमशक्ति सर्वेक्षण २०७६ अनुसार नेपालमा १७ वर्षमुनिका करिब २ लाख ८६ हजार बालबालिका आर्थिक लाभको कार्यमा संलग्न रहेका छन् । उनीहरुमध्ये अधिकांश अत्यन्तै जोखिमयुक्त अवस्थामा कार्यरत छन् ।


