संवैधानिक इजलास सम्बन्धि नियमावली संशोधन गर्ने तयारी फुल कोर्ट बैठक बस्दै
२१ जेष्ठ २०७८, शुक्रबार ११:२७
२१ जेठ २०७८,शुत्रबार
सर्वोच्च अदालतको पूर्ण न्यायाधीशहरुको बैठक आज बस्दैछ । बैठकमा संवैधानिक इजलास गठनको नियमावली संशोधनसहित कोरोना महामारीका कारण रोकिएका सेवाहरुको बारेमा छलफल गरिने बताइएको छ ।
संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि गठित संवैधानिक इजलासका विषयमा विवाद भएपछि सर्वोच्च अदालत बार एसोसिएसनले पूर्ण न्यायाधीशहरुको बैठक (फुल कोर्ट) बोलाउन प्रधानन्यायाधीश राणालाई सुझाव दिएको थियो । सर्वोच्च बारका पदाधिकारीहरुसँग बैठकमा राणाले फुल कोर्ट बोलाउने सहमति जनाएका थिए ।
दोस्रो पटक भएको प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइका लागि प्रधानन्यायाधीश राणाले आफ्नो नेतृत्वमा दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलास गठन गरेका थिए। संवैधानिक इजलासमा परेकामध्ये न्यायाधीश केसी र श्रेष्ठको विषयमा विवाद उत्पन्न भएको हो ।
न्यायाधीश केसी र श्रेष्ठ यसअघि नेकपा विवादसम्बन्धी दुई मुद्दामा सहभागी भएकाले हेर्न नमिल्ने भनि कानुन व्यवसायीले प्रश्न उठाएका थिए। उनीहरुले प्रश्न उठाएपछि उक्त इजलासमा केसी र श्रेष्ठले हेर्न मिल्ने राय राखेका थिए भने कार्की र भट्टराईले अलग हुने बताएका थिए।