सिनेमाहलहरुमा चल्दैछ धन्दागिरी
२४ आश्विन २०७८, आईतवार ११:०२

असोज २४, काठमाण्डौं,
कोरोना महामारीअघि हरेक वर्षको दशैंमा फिल्म रिलिज गर्न निर्माताबीच हानाथाप हुन्थ्यो । किनकि, दशैं विदा फिल्म रिलिजका लागि सबैभन्दा राम्रो समय हो । तर, गत वर्ष दशैंमा कोरोनाका कारण सिनेमा हल सुनसान भए । यस वर्षको दशैंमा भने नयाँ फिल्म रिलिज हुने भएको छ । फूलपातीपछिको दशैं विदा हत्याउन शुक्रवार फिल्म धन्दागिरी ले रिलिज डेट घोषणा गरेको छ ।
असोज २५ गते फूलपातीको अघिल्लो दिनलाई प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले शुक्रवार ट्रेलर पनि सार्वजनिक गर्यो । ट्रेलरमा एक्सनलाई विशेष प्राथमिकता दिइएको छ । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री छुल्ठिम गुरुङको मुख्य भूमिका रहेको यस फिल्ममा दिनेश खड्का, दिनेश डिसी, सुशील पोखरेल, स्वर्गीय दीपक क्षेत्री, स्वर्गीय बिएस राणा लगायतको पनि अभिनय देख्न पाइन्छ ।
नरेन्द्र भट्टराई एन बी अन्जानको कथा र निर्देशन रहेको बरिस्ठ पत्रकार कृष्ण भट्टराई को सम्बाद फिल्ममा दिनेश खड्का एसोसियट निर्माता र कुमार प्रसाद ओझा कार्यकारी निर्माताको रुपमा छन् । कवि भक्त क्षेत्री र फुर्वा दोर्जे तामाङ फिल्मका निर्माता हुन् । आरआर फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् । फिल्मले दर्शकलाई भरपूर मनोरञ्जन र सन्तुष्टि दिने निर्देशक भट्टराईको दाबी छ ।
यो फिल्मको डिजिटल राइट्स डिएआर मुभिज एन्ड फिल्म्सले लिएको छ ।

