२०७८ अशोज ७, बिहिबार

   2021, Sep 23 Thursday

राष्ट्रिय सभा प्रभावकारी हुन नसकेको सांसदहरुकै गुनासो, कालो क्याप देखाएर सरकारको बिरोध

२१ असार २०७८, सोमबार २०:४३

२१ असार २०७८, काठमाण्डौं

राष्टिय सभामा विपक्षी दलका सांसदले प्रतिनिधिसभा विघटनको बिषयमा सरकारको बिरोध गरेका छन् । सत्तारुढ दलका सांसदले भने सरकारको बचाउ गरेका छन् ।
सरकारले संविधानको मर्म र भावना बिपरित प्रतिनिधिसभा बिघटन गरेकोे भन्दै नेपाली कांग्रेसले राष्ट्रिय सभामा बिरोध जनाएको छ । राष्ट्रियसभाको सोमबारको बैठकमा कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले प्रतिनिधिसभा बिघटनको विरोधमा कालो क्याप देखाएर बिरोध जनाउनुभएको हो । संसदमा  कालो झण्डा देखाउन नमिल्ने भएकाले कालो क्याप देखाएको उहाले बताउनुभयो । उहाले आफूले कहिल्यै पनि सदनमा कालो क्याप लगाएर नआएको भए पनि सोमबार बिरोधकै लागि कालो क्याप लगाएको बताउनुभयो । कोरोना माहामारीका कारण सडकमा प्रदर्शनका लागि आउनु उपयुक्त नभएको भन्दै उहाले सांकेतिक बिरोध गरिएको बताउनु भयो । फरक प्रसङ्गमा सांसद रायमाझीले संसद्बाट पारित चुच्चे नक्सा अहिले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट प्रकाशित  पाठ्यपुस्तकमा किन उल्लेख भएन भनी सरकारसँग प्रश्न गर्नुभयो ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) का सांसद नारायणकाजी श्रेष्ठले आन्तरिक राजनीतिमा विदेशी हस्तक्षेप निम्त्यााउने काम प्रधानमन्त्रीबाटै आएको आरोप लगाउनुभयो । राष्ट्रपतिको सहयोगमा एकपछि प्रधानमन्त्री केपी ओलीले अर्को प्रतिगामी कदम चालेको उहाको भनाई छ । राष्ट्रियसभा अधिवेशन तत्काल अन्त्य नगर्न आग्रह गर्दै प्रतिनिधिसभा नभएका बेला यस सभालाई लोकतन्त्रको रक्षा र जनताको आवाज उठाउने थलोका रुपमा निरन्तरता दिनुपर्ने उहाले बताउनुभयो ।
बैठकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहालले पुनःस्थापित प्रतिनिधिसभाले यसअघि प्रभावकारी काम गर्न नसकेको उल्लेख गर्दै मुलुक अब निर्वाचनमै जानुपर्ने बताउनुभयो । सांसद दाहालले आफ्नै दलका नेतालाई प्रधानमन्त्रीबाट हटाउन अदालतमा लाइन लागेको दृश्य अनौठो देखिएको धारणा व्यक्त गर्नुभयो ।
राष्ट्रियसभाको अर्को बैठक यही असार २३ गते दिउँसो १ बजे बोलाइएको छ ।
यसैबीच राष्ट्रिय सभा सदस्यहरुले राष्ट्रिय सभाको कामकारवाहीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा उनीहरुले बैठक प्रभावकारी हुन नसकेको बताए । बैठकमा राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले राष्ट्रिय सभामा जनताको बिषयबस्तुलाई प्रभावकारी रुपमा उठाउनुपर्ने बताउनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV