२०८१ मंसिर २०, बिहिबार

   2024, Dec 5 Thursday

राष्ट्रियसभाको नवौँ अधिवेशन आइतबारबाट सुरु

३ श्रावण २०७८, आईतवार १९:२१

३ साउन २०७८, काठमाण्डौं


राष्ट्रियसभाको नवौँ अधिवेशन आइतबारबाट सुरु भएको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । उहाँले नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको तथा मन्त्रिपरिषद् विस्तारसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।
अधिवेशन प्रारम्भ भएसँगै नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले कोभिड–१९ को सङ्क्रमण बढ्दो रहेकाले जोखिम नियन्त्रणका लागि कोभिड १९ विरुद्धको खोपको प्रभावकारी व्यवस्थापनलाई निरन्तरता दिन सरकारसमक्ष माग गर्नुभयो । जारी मनसुनका कारण प्राकृतिक विपद्का घटना पीडितको राहत, उद्धार तथा बास व्यवस्थापनका लागि थप प्रभावकारी काम गर्न उहाँले आग्रह गर्नुभयो । उहाले संघीयतालाई मजबुद पार्ने काममा लाग्नुपर्ने जोड दिनुभयो ।
त्यस्तै नेकपा (एमाले) का सुमनराज प्याकुरेलले सत्ता प्राप्तिका लागि दलीय प्रणालीलाईसमेत कमजोर पार्नेगरी सर्वोच्च अदालतको फैसलाले विधिको शासनमाथि प्रश्न चिन्ह लागेको र सुधारिएको पञ्चायती व्यवस्था लागू गर्न खोजिएको आरोप लगाउनुभयो ।
नेकपा (माओवादी केन्द्र) राष्ट्रियसभा दलका नेता दिनानाथ शर्माले प्रतिपक्षलाई विश्वासमा लिएर सहमति र सहकार्यको संस्कृतिलाई बढावा दिई मुलुकमा व्याप्त समस्याको समाधानका लागि सबै राजनीतिक दललाई आग्रह गर्नुभयो ।
सांसद प्रमिला कुमारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्ने ध्येयका साथ सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकामा प्रसन्नता व्यक्त गर्नुभयो । अन्य सदस्यहरुले राष्ट्रिय समस्या समाधानका लागि सबै राजनीतिक दलकाबीच राष्ट्रिय एकता हुनुपर्नेमा जोड दिएका थिए । राष्ट्रियसभाको अर्को बैठक यही साउन ७ गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV