राजनीतिक दलसम्बन्धी ऐनअनुसार माओवादी केन्द्र चल्न नसकेको: टोपबहादुर रायमाझीको आरोप
२६ असार २०७८, शनिबार १५:२२
२६ असार २०७८, काठमाण्डौ
नेकपा माओवादी केन्द्रका पूर्वनेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, नेपालको कानुन र राजनीतिक दलसम्बन्धी ऐनअनुसार चल्न नसकेको आरोप लगाउनुभएको छ ।
शनिबार रिपोटर्स क्लव नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले राजनीतिक दलसम्बन्धी ऐनमा प्रत्येक पाँच वर्षमा महाधिवेशन पर्ने भएपनि उसले आफ्नो अद्यावधिक गर्न नसकेको तर्क गर्नुभयो । उहाले आफैले बनाएको संविधानलाई माओवादीले नमानेर अराजकता सिर्जना गर्न खोजेको धारणा पनि राख्नुभयो । रायमाझीले सङ्घीय सांसद, प्रदेश सांसद, पालिकाका जनप्रतिनिधि, जनताबाट प्रत्यक्ष चुनिएका वैधानिक जनप्रतिनिधिलाई अवैधानिक पार्टीले कारबाही गरेको जिकिर गर्नुभयो ।
उहाले देशमा राजनीतिक पार्टीहरूमा अराजकता, अस्वस्थ प्रतिस्पर्धा र द्वन्द्व चलेको भन्दै पार्टीहरूलाई सिस्टममा नल्याइ समृद्धि आउन नसक्ने धारणा राख्नुभयो । उहाले माओवादी अव सिद्धिने भन्दै त्यस्ता पार्टीको पछि लागेर कुनै अर्थ नहुने बताउनुभयो ।
उहाले माओवादीले यसअघि पनि महाधिवेशनमा खल्तीबाट नाम निकालेर आफ्ना मान्छेलाई मात्र नेतृत्वमा ल्याउने काम गरेको आरोप पनि लगाउनुभयो ।