माधव नेपालको कोटाबाट बागमती प्रदेश प्रमूखमा यादवचन्द्र शर्मालाई नियुक्तिका लागि सिफारिस
३ भाद्र २०७८, बिहीबार २०:२१

३ भाद्र,काठमाण्डौं
सरकारले वाग्मती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ ।
आज बसेको मन्त्रीपरिषद्को बैठकले प्रस्तावित नेकपा एमाले समाजवादी का अध्यक्ष माधवकुमार नेपालको कोटाबाट संखुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । वाग्मती प्रदेशमा सरकार परिवर्तन भएसँगै सरकारले प्रदेश प्रमुख फेर्न लागेको हो । हाल वाग्मती प्रदेश प्रमुखमा रहेका विष्णु प्रसाईंलाई सरकारले फिर्ता बोलाएर शर्मालाई पठाउने निर्णय गरेको हो । सरकारले यसअघि लुम्बिनी, गण्डकी र प्रदेश २ मा पनि प्रदेश प्रमुखको हेरफेर गरेको थियो । यस्तै मन्त्रीपरिषद् बैठकले कृष्ण जन्माष्टमी पर्वको अबसरमा भदौ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यस्तै मन्त्रीपरिषदको बैठकले भदौ ७ गते गाइजात्राको अवसरमा देशभरका नेवार समुदायका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । यस्तै बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधान सेनापति पदमा नियुक्ति गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । बैठकले सैनिक सेवा चौथो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको उहाले जानकारी दिनुभयो ।