माओवादी केन्द्र खारेजीको माग गर्दै पूर्व माओवादीहरु निर्वाचन आयोगमा जादै
२३ असार २०७८, बुधबार १३:२६

२३ असार २०७८, काठमाण्डौ
नेकपा माओवादी केन्द्र पार्टी खारेजीको माग गर्दै पूर्व माओवादी नेताहरुले निर्वाचन आयोगमा निवेदन दिनुहुने भएकोछ । माओवादी पृष्ठभूमिका एमाले नेताहरुले आयोगमा यस्तो निवेदन दिन लाग्नुभएको हो । माओवादी केन्द्रको वैधानिकता समाप्त भैसकेको दाबी गर्दै उहाँहरुले निवेदन दिन लागेको बताइएकोछ । उहाँहरु अहिले केहिबेरमै निर्वाचन आयोग पुगेर निवेदन बुझाउन तयारी गर्नुभएको छ । माओवादी केन्द्रको सातौँ महाधिवेशन २०६९ साल माघमा भएको थियो । राजनीतिक दल सम्बन्धी व्यवस्थामा पाँच वर्षभित्रै महाधिवेशन गरिसक्नुपर्ने प्रावधान छ । ६ महिना म्याद थप्न मिल्ने प्रावधान बमोजिम पनि २०७५ असार भित्रै भैसक्नुपर्ने महाधिवेशन अहिलेसम्म नभएकोले माओवादी केन्द्रको वैधानिकता स्वतः खारेज भएको दाबीसहित माओवादी छाडेका नेताहरुले आयोगमा निवेदन दिन लाग्नुभएको हो । माओवादी त्यागेर एमाले बन्नुभएका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभू शाह लगायतले यसको नेतृत्व गरेको बताइएको छ ।