बुबाको घातक बलिङ छोराको बिस्पोटक ब्याटिङमा त्रिपुरासुन्दरीको जित
१६ कार्तिक २०७८, मंगलवार १२:१९
१६ कात्तिक, धादिङ ।
धादिङ क्रिकेट संघको आयोजनामा जारी धादिङ जिल्ला टी(२० क्रिकेट प्रतियोगिताको आजको पहिलो खेलमा त्रिपुरासुन्दरी र शुभारम्भ युवा समाज बिचको खेलमा त्रिपुरासुन्दरीले ९ विकेटको जित निकालेको छ।
बिशालटारको चन्द्रदय खेल मैदानमा टस जितेर ब्याटिङका लागि आएको शुभारम्भले १८.३ ओभरमा १० विकेट गुमाउँदै ९९ रन जोड्यो। टोलीका लागि अमन श्रेष्ठले २१ बलमा २३ रन जोडे। यस्तै एन्जल खरेलले २६ बलमा ३४ रन प्रहार गरे।
त्रिपुरासुन्दरीका बुबा छोराको जोडीले ५ विकेट लिए। बुबा उदय थापाले ३.३ ओभरमा १ मेडन राख्दै ७ रन दिएर ४ विकेट लिए। छोरा अमृतले १ विकेट लिए। यस्तै निशान खड्काले ४ ओभरमा २१ रन दिँदै ३ विकेट लिए।
जवाफी ब्याटिङ गर्न आएको त्रिपुरासुन्दरीले १२.३ ओभरमा लक्ष्य भेटायो। टोलीको जीतमा अमृत थापाले ४१ बलमा ७२ रनको आजिवित पारी खेले।
थापाले १२ चौका र २ छक्का प्रहार गरेका थिए। यस्तै निशान खड्काले १० तथा ईश्वर अधिकारीले ६ रन जोडे।
लगातार ३ जित निकालेको त्रिपुरासुन्दरीले सेमी फाइनल प्रवेश गरिसकेको छ।