बाढी आएको २६ दिनपछि प्रधानमन्त्री सिन्धुपाल्चोकमा, जस्तापाता वितरण गर्ने आश्वासन
२६ असार २०७८, शनिबार २०:४४
६ असार २०७८, काठमाण्डौं
प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी आएको २६ दिनपछि सिन्धुपाल्चोको मेलम्ची पुग्नु भएको छ ।
प्रधानमन्त्री ओलीले हेलम्बुमा बाढीपहिरो पीडितलाई चेक हस्तान्तरण गर्नु भएको छ । उहाँले ३ सय ६६ घरका लागि १५ सय बण्डल जस्तापाता वितरण गर्ने आश्वास पनि दिनु भएको छ ।
मेलम्चीमा पुगेर प्रधानमन्त्री ओलीले बाढी प्रभावित बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताउनुभयो । बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालगायत क्षेत्रको स्थलगत अवलोकन गर्नु भएका प्रधानमन्त्री ओलीले राजनीतिक आस्थाभन्दा माथि उठेर मानवीय रुपमा बाढी प्रभावितलाई सहयोग गर्न सबै राजनीतिक दल र सङ्घसंस्थालाई आह्वान पनि गर्नु भयो । राहत वितरणभन्दा पनि सामाजिक सञ्जालमा प्रचार मात्रै बढी हुने गरेको भन्दै ओलीले राहत वितरणका नाममा विभिन्न धर्मको प्रचारप्रसार नगर्न आग्रह गर्नु भयो । प्रधानमन्त्री ओलीले बाढी प्रभावित मेलम्चीका सडक, पुललगायत पूर्वाधारको पुनःनिर्माणको काम तीव्र रुपमा अगाडि बढाइने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ । नेपाली सेनाको हेलिकप्टरबाट सिन्धुपाल्चोक पुगेका प्रधानमन्त्री ओली हेलिकप्टरमै काठमाडौं फर्किनु भएको छ ।