बागमती प्रदेशको बजेट अधिवेशन जेठ २७ गतेभित्रैसुरु हुनेभएको छ
२४ जेष्ठ २०७८, सोमबार ११:३८

जेठ २४ २०७८, सोमबार
बागमती प्रदेशको बजेट अधिवेशन जेठ २७ गतेभित्रैसुरु हुनेभएको छ ।
आगामि आर्थिक वर्ष २०७८÷७९ का लागि नीति, कार्यक्रम र बजेट माथि छलफल हुन अधिवेशन सुरु हुन लागेको हो । जेठ २७ गतेभित्र प्रदेशसभामा नीति तथा कार्यक्रम र बजेट पेश हुने बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले जानकारी दिनुभएको छ । गत जेठ १७ गतेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम बजेटको सिद्धान्त र प्राथमिकताका बारेमा छलफलबाट प्राप्त सुझावलाई समेटेर बजेट निर्माणको अन्तिम तयारीमा भइरहेकाले जेठ २७ भित्र बैठक आह्वान गर्ने योजना रहेको मन्त्री ढुंगेलले बताउनु भयो । उहाँले प्रदेश सरकारले आगामी वर्षको लागी करिब रु ५४ अर्ब बजेट ल्याइने तयारी गरिरहेको समेत जानकारी दिनुभएको छ । आगामी वर्षको बजेटमा आगामी आर्थिक वर्षको २०७८÷७९ को नीति, कार्यक्रम र बजेटमा कोरोना संक्रमण नियन्त्रण, उपचार सेवालाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ । मन्त्री ढुंगेलका अनुसार प्रदेश सरकारले आगामी वर्षको बजेटमा कोरोना नियन्त्रणसँगै भौतिक पूर्वाधार निर्माणलाई जोड दिएको छ ।
त्यस्तै सरकारले ल्याउने तयारी गरेको आगामी वर्षको बजेट कोरोना संक्रमणबाट पीडित परिवारलाई उत्पादनतर्फ जोड्न तथा आर्य आर्जनको लागि आर्थिक प्याकेज कार्यक्रममा केन्द्रीत रहने बताइएको छ । प्रदेशको काठमाडौं उपत्यकाको तीन जिल्ला बाहेक अन्य १० जिल्लाका अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना, उपचार सेवालाई स्तरीय र गुणस्तरीय बनाउँदै सबै अस्पतालमा एचडीयू, भेन्टिलेटर र आइसियू कक्षको स्थापना गर्ने र अस्पतालको सेवालाई सहजीकरण गर्न कार्यदल पनि गठन गर्न बजेटमा नै व्यवस्था गरीने उनको भनाई छ ।
प्रदेश सरकारले दक्ष जनशक्ति उत्पादनको लागि प्राविधिक शिक्षा तर्फलाई प्राथमिकतामा राखिन, कृषि उत्पादनको साथै पशुपालनतर्फ उच्च प्राथमिकता दिई शहरी क्षेत्रको उपभोक्ताहरूलाई दुधजन्य पदार्थ र मासुमा आत्मनिर्भर तुल्याउने कार्यलाई आगामी वर्षको बजेटमा जोड दिइने मन्त्री ढुंगेलले बताए ।