कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिकामा सहमति जुटेन
२८ श्रावण २०७८, बिहीबार १९:३०
२८ साउन २०७८, काठमाण्डौ
नेपाली कांग्रेसले निर्वाचन समितिले पेस गरेको निर्वाचन निर्देशिका छलफल भएपछिमात्रै महाधिवशेनको नयाँ कार्यतालिका ल्याउने भएको छ ।
पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बिहीबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा शीर्ष तहमा सहमति नजुटेपछि महाधिवेशन कार्यतालिका पेश हुन नसकेको हो । महामन्त्री पूर्णबहादुर खड्काले पेस गरेको प्रस्तावमा केन्द्रीय सदस्यहरूको सुझाव र निर्णयबाट कार्यतालिका बनाउने कांग्रेसले जनाएको छ ।
बैठकमा निर्वाचन समितिले बनाएको निर्देशिका महामन्त्री पुर्णबहादुर खड्काले पेश गर्नुभएको छ । त्यस्तै समायोजन समितिको प्रतिवेदन उपसभापति विमलेन्द्र निधिले पेश गर्नुभएको छ भने क्रियाशिल छानबिन समितिको प्रतिवेदन छानबिन समितिका संयोजक रमेश लेखकले पेश गर्नुभएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । शर्माले केन्द्रीय सदस्यहरुको सुझावपछि महाधिवेशनको कार्यतालिका आउँने बताउनुभयो ।
यसअघि तय भएको भदौ १६–१९ सम्म निर्धारित कार्यतालिकामा महाधिवेशन नहुने भएपछि कांग्रेसमा नयाँ कार्यतालिका बनाउन छलफलमा जुटेको हो ।