अमेरिकी सरकारद्धारा १५ लाख मात्रा खोप नेपाललाई हस्तान्तरण
२८ असार २०७८, सोमबार १८:५६

२८ असार २०७८, काठमाण्डौं
अमेरिकी सरकारले कोभिड–१९ विरुद्ध १५ लाख मात्रा खोप सहयोगस्वरुप नेपाललाई हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले जोन्सन एण्ड जोन्सन खोप हस्तान्तरण गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले खोप अनुदान उपलब्ध गराएकोमा अमेरिकी सरकारलाई धन्यवाद दिनुभयो । अमेरिका सरकारले नेपाललाई दिएको खोप नेपाली जनताको जीवन रक्षाका लागि बरदानस्वरुप हुने उहाले बताउनुभयो । प्राप्त भएको खोप प्राथमिकताको आधारमा जोखिम समुहलाई दिनेगरी छिट्टै खोप अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो । उहाले कोरोना नियन्त्रणमा फ्रन्टलाईनरदेखि जनतासंम्म खोप पुराउने जिकिर गर्नुभयो । कोरोनाबाट बच्न खोपको बिकल्प नभएको भन्दै उहाले जनताको जिवनरक्षाका लागि सवै जनतालाई खोपको पहुँचमा पुराउने बताउनुभयो ।
त्यस्तै राजदूत बेरीले नेपाली जनताको जीवनरक्षाको एक मात्र उद्देश्यले खोप उपलब्ध गराइएको बताउँदै यसले नेपाललाई अहिलेको महामारीबाट बाहिर निस्कन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।अमेरिकाले नेपाल सरकारलाई १५ लाख डोज कोभिड– १९ विरुद्धको खोप अनुदान सहयोग दिएको हो । अमेरिकाले अनुदान सहयोग दिएको १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप सोमबार नै त्रिभुवन बिमानस्थलमा नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो । अमेरिकी सरकारले कोभ्याक्स सुविधा अन्तर्गत जोन्सन एन्ड जोन्सन खोप प्रदान गरेको हो ।
